२०८२ असार २

रसुवाकी पार्वती जोशी विना शेर्पा गाइड सगरमाथाको चुचुरोमा ।

काठमाण्डौँ, शेर्पाहरूविना हिमाल आरोहण असम्भव छ भन्ने भाष्यलाई गलत सावित गर्दै रसुवाकी पार्वती जोशीले विना शेर्पा गाइड सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
रसुवाको आमाछोदिङमो–४ की पार्वती जोशीले सन् २०२५ मे १९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनले सगरमाथाको चुचुरोमा पुगेर कोरियन भाषामा ‘बुवा, आमा, म तपाईंलाई माया गर्छु’ लेखिएको बोर्ड प्रदर्शन गरेकी थिइन् । शेर्पा गाइडको सहयोगविना विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो महिला बनेर इतिहास रच्न सफल भएको उनले बताइन् । त्यतिमात्र होइन रसुवा जिल्लाबाट सगरमाथा चढ्ने आफू पहिलो महिला पनि भएको उनको भनाइ छ ।
१९९२ डिसेम्बर २४ मा जन्मिएकी पार्वती भलिबलको पूर्वखेलाडी पनि हुन् । तर पदयात्राको प्रेमी उनी ट्रेकिङ गाइड बनिन् । हाल उनी इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृत्वकर्ताका रूपमा कार्यरत छिन् ।
पार्वतीले काठमाडौंबाट २० अप्रिल २०२५ मा सगरमाथाको यात्रा सुरु गरेकी उनले १९ मेमा सगरमाथाको शिखरमा पाइला टेकेर २४ मेको दिन पुनः काठमाडौं फर्किएकी थिइन् ।
सगरमाथा आरोहणको क्रममा कुनै पनि शेर्पाको सहयोग नलिएको बताउँदै उनले भनिन्, ‘मैले मेरो आफ्नै निर्णय, आरोहण रणनीति र साहसमा भर गरेर इतिहास रचेँ ।’