२०८२ बैशाख २७

नेपाल सधैँ सबै खाले आतङ्कवादको विरुद्धमा छ : परराष्ट्रमन्त्रालय

काठमाण्डौ‘, परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दे नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको भन्दै नेपाल सरकारको धारणा सार्वजनीक गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, भारतको पहलगाममा २२ अप्रिल २०२५ मा निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर र चिन्तित छ । त्यस दुःखद घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भएर उभिएका थिए ।
बिज्ञप्तिमा भनिएको छ– यस सन्दर्भमा स्मरणीय छ, नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भत्र्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ । नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ । आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन ।
बिज्ञप्तिमा भनिएको छ– नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ।