राप्रपाले काठमाण्डौँको बल्खुमा सभा गर्दै, सीसी क्यामेरा र ड्रोनबाट निगरानी गर्ने : प्रहरी

काठमाण्डौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाण्डौँको बल्खुमा सभा गर्दैछ ।
संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ
आजको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने भएका छन् ।
राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।
जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकता अनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् ।
यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।
यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्केन बताए ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत प्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्