२०८२ फाल्गुन ६

अमेरिकासँग कुनै पनि प्रकारको युद्धका लागि तयार छौं : चीन

काठमाण्डौँ, चीनले अमेरिकालाई ‘कुनै पनि प्रकारको युद्ध’का लागि तयार रहेको चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनियाँ सामानमा कर बढाएका छन्, यसले विश्वका दुई शीर्ष अर्थतन्त्रहरूबीच ‘व्यापार युद्ध’को जोखिम बढेको छ ।
चीनले जवाफस्वरुप अमेरिकी कृषि उत्पादनमा १०–१५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकास्थित चिनियाँ दूतावासले मंगलबार सामाजिक सञ्जालमा एक पोस्टमा लेखेको छ, “चाहे त्यो करको युद्ध होस् वा व्यापार युद्ध होस् या अन्य कुनै युद्ध । यदि, अमेरिका युद्ध चाहन्छ भने हामी यसको अन्त्यसम्म लड्न तयार छौँ ।”
ट्रम्प राष्ट्रपति बनेपछि चीनको तर्फबाट आएको यो सबैभन्दा कडा वक्तव्य हो । यो त्यस्तो समयमा आएको छ, जब चिनियाँ नेताहरू राष्ट्रिय जनकाँग्रेसको वार्षिक सत्रका लागि बेइजिङमा भेला भएका छन् ।
चीनले ट्रम्पको निर्णयसँगै क्यानडा र मेक्सिको जस्ता अमेरिकी सहयोगीहरूमा पर्नसक्ने प्रभावलाई आफ्नो फाइदामा परिणत गर्ने आशा गर्न सक्छ । तर, चीन आफ्ना वक्तव्यवाजीलाई एक हदभन्दा बढाउन चाहँदैन । किन भने ऊ आफ्ना सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन । बीबीसी संवाददाता लौरा बिकरकाले लेखेका छन् ।
चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “चिनियाँ उत्पादनहरूको आयातमा अमेरिकी शुल्क बढाउन फेन्टानिल मुद्दा एउटा कमजोर बहाना हो ।”
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, “हामी धम्कीबाट डराउने छैनौँ । धम्कीले हामीमा कुनै प्रभाव पार्दैन । दबाब, जबरजस्ती वा धम्की चीनसँग व्यवाहार गर्ने सही तरिका होइन ।”
चीनको कडा प्रतिक्रियाबारे अमेरिकी रक्षामन्त्री पिट हेगसेटले फक्स न्यूजको कार्यक्रममा भने, “हामी तयार छौँ । शान्ति चाहनेहरूले युद्धका लागि पनि तयार हुनुपर्छ ।” यसैकारण अमेरिकाले आफ्नो सेनालाई बलियो बनाइरहेको र प्रतिरोध क्षमता पुनस्र्थापित गरिरहेको उनको भनाइ छ ।