प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपतिसँग भेट्दै, आजै स्वदेश फर्कने ।

काठमाण्डौँ, आज प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटघाट गर्दैछन् ।
आज बिहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने जनाइएको छ । भारत भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्रीको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आज बिहान चियापानको आयोजना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको साथमा उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री आजै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्