गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने, वश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम ल्याउने ।
पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं आएका थिए । काठमाण्डौँबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।
पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतलेको निर्णयबाट पदमुक्त पछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
जेठ १४गते सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त हुने फैसला गर्दै काँग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ जना सांसदको समर्थन पु¥याएर मुख्यमन्त्री नियुक्ति भएको भन्दै काँग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत परीक्षण गर्न पाउने फैसला सुनाएको थियो । तर विश्वासको मत लिँदा ६० सदस्यीय प्रदेशसभामा ३० जनाले मात्र मुख्यमन्त्रीलाई समर्थन गर्दा पनि सभामुख कृष्ण धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुखको उक्त निर्णयविरुद्ध पनि काँग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । १४ जेठमा सर्वोच्चले सभामुखको निर्णय बदर गर्दै मुख्यमन्त्री अधिकारी पदमुक्त भएको फैसला गरेपछि पाण्डे मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्