जसपाले समर्थन फिर्ता लिने, आज उपेन्द्रले मन्त्री पदबाट राजीनामा दिने ।

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले पुष्पकमल दाहाल सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
आज भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाले जनाएको छ ।
आइतबारको बैठकमा पार्टी विभाजन, भावी रणनीति र सरकारमाथिको समर्थनलगायतका विषयमा बैठकमा छलफल भयो । सरकारमाथिको समर्थन फिर्ता लिने लगायतका निर्णय आजको केन्द्रीय कमिटी बैठकमा थप परिपक्व हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन सन्देश पठाएका थिए । लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ । एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्