२०८१ श्रावण १२

चितवनमा आजदेखि ‘गोही संरक्षण मेला’ सुरु, मेला दुईदिनसम्म चल्ने छ ।

चितवनमा आज (शुक्रबार)देखि ‘गोही संरक्षण मेला’ सुरु भएको छ ।
केयर फर नेचरले गोहीमा आधारित पर्यटन विकासको उद्देश्यले नेपाल गोही संरक्षण मेला–२०८० आयोजना गरेको हो ।
गत वर्ष मेघौलीमा गरिएको मेला यस वर्ष सौराहाको चित्रसारी पुल नजिकैको चौरमा गर्न लागिएको छ । शुक्रबार बिहान गोहीको बासस्थान क्षेत्रमा सरसफाइ गरिएको छ । दिउँसो रत्ननगर र खैरहनी नगरपालिकाका ८ वटा विद्यालयहरुमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गरिने केयर फर नेचरकी अध्यक्ष रन्जना भट्टले जानकारी दिइन् । नदी, खोलामा निर्भर रहने समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयलाई लक्षित गरेर संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।


गोहीको विषयमा अनुसन्धान गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विज्ञ तथा अनुसन्धानकर्ता र विश्वविद्यालयका विद्यार्थीहरु पनि मेलामा उपस्थित हुने आयोजक संस्थाले जनाएको छ ।
नेपालमा घडियाल र मगर गोही पाइन्छन् । अति संकटापन्न अवस्थाको घडियाल गोही नेपाल र भारतमामात्रै पाइन्छन् । चितवनको राप्ती र नारायणी नदी घडियाल गोहीको प्रमुख वासस्थान हो । अध्यक्ष भट्टले गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐकबद्धता खोज्न मेला आयोजना गरिएको बताइन् ।
२०७९ सालको पुसमा गरिएको सर्भेक्षण अनुसार राप्तीमा १ सय ३३ र नारायणी नदीमा १ सय ६ वटा घडियाल गोहीहरू छन् । त्यतिखेर राप्तीमा एउटा र नारायणीमा दुइटामात्रै भाले गोही भेटिएका थिए । जबकी चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रले सन् १९८१ यता १८ सय ५२ वटा गोहीहरू हुर्काएर विभिन्न नदीहरूमा छाडेको थियो । तीमध्ये धेरै राप्ती र नारायणीमै छाडिएका थिए ।
मेलामा शनिबार गोही सम्बन्धी सूचनामूलक सामग्रीहरूको प्रदर्शनी, गोही संरक्षणमा प्रेरित गर्ने नाटक, गीत, नृत्य, चित्रकला प्रस्तुत गर्ने र सरसफाई गर्ने भट्टले बताइन् । स्थानीय कला, संस्कृति, खानाका परिकारको प्रदर्शनी पनि मेलामा समावेश गरिएको छ ।