पूर्व राज्यमन्त्री गुरुङद्वारा मनाङको विद्यालयलाई ६ लाख सहयोगको घोषणा

पूर्व राज्यमन्त्री गुरुङद्वारा मनाङको विद्यालयलाई ६ लाख सहयोगको घोषणा

    चामे, ४ मसिंर / पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मनाङको चामे गाउँपालिकास्थित तिमाङमा रहेको गौरीशंकर आधारभूत विद्यालयलाई विद्यार्थीहरुको वार्षिक खाद्यान्न व्यवस्थापनका लागि ६ लाख रुपैया सहयोगको घोषणा गरेका छन्  । इजरायली राजदूत हनान् गोडेरलाई हिमाली जिल्ला मनाङको अवलोकन गराउनेक्रममा पूर्व राज्यमन्त्री गुरुङले यस्तो घोषणा गरेका हुन् । साथै पुर्व मन्त्री गुरुङले लोकप्रिय मा.वि. चामे र चामे अस्पताललाई १/१ थान कम्प्युटर सहयोग गरेको गुरुङका निजि सचिव सोनम लामाले जानकारी दिएका छन् ।


    हिमाली जिल्ला मनाङको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कसरी सहयोग पुर्याउन सकिन्छ ? भन्ने विषयमा सम्भाव्यताको अध्ययन गर्न र तथा जलवायु परिवर्तनको असरको अवलोकन गर्न मनाङ पुगेका इजरायली राजदूत गोडेर सहितको टोलीलाई विद्यालय सञ्चालनका लागि सहयोग गरिदिन विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले ज्ञापन पत्र पेश गरेपछि विद्यालय प्रांगणमा आयोजित एक समारोहमा पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले ६ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका थिए ।


    इजरायली राजदुत हनान गोडेरसहित गृह जिल्ला मनाङ पुगेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले स्थानीय तहको व्यवस्थापनमा विद्यालयहरु सञ्चालन हुदै आएपछि जिल्लामा शैक्षिक विकासले गति लिन थालेको भन्दै यसले अभिभावकहरुमा उत्साह देखिएको र बालबालिकाहरुको भवष्यि उज्वल हुने विश्वास ब्यक्त गरे । उनले भने ‘गत असारको शुरुमा गएको बाढी पहिरोले ताल, थोंचे र चामेमा क्षति पुर्यायो, ती क्षेत्रहरु रहेका विद्यालयहरु भोलीका दिनहरुमा पनि सहज रुपमा सूचारु गर्न सकिएन भने पनि तिमाङको यस विद्यालय एउटा भरपर्दो विकल्प हुन सक्ने मैले देखेको छु । त्यसैले यस विद्यालयलाई अरु पनि सहयोगको खाँचो छ ।’


    गौरीशंकर आधारभूत विद्यालय व्यवस्थापन पक्षकका तर्फबाट ताल, थोंचे र चामेमा भएको क्षति र भावि खतराको विकल्प तिमाङको यस विद्यालय बन्न सक्ने सम्भावना औंल्याउँदै सहयोगका लागि विभिन्न दातृ निकायहरुसमक्ष हात फैलाँंउनु पर्ने बाध्यता जाहेर गरिएको थियो । प्रधानाध्यापक कमलजङ्ग गुरुङले विद्यालयलाई थान्चोक समाजले ३१ रोपनि जग्गा नामसारी गरेर दिईसकेको र भविश्यमा आवश्यक परे थप जग्गा दान गर्न स्थानीय बासिन्दाहरु तयार रहेको जानकारी दिएका छन् । उनले यस क्षेत्रका अभिभावकहरुले गौरीशंकर आधारभूत विद्यालयलाई बोर्डिङ स्कूलको शैलीमा सञ्चालन गर्न अभिभावकहरुको आग्रह समेत रहेको बताए ।

सम्बन्धित समाचार