विदेशमा बसेपनि स्वर्ग जस्तो मनाङ जिल्ला मेरो जिल्ला हो भन्न पाउँदा निकै गर्व लाग्छ ।

विदेशमा बसेपनि स्वर्ग जस्तो मनाङ जिल्ला मेरो जिल्ला हो भन्न पाउँदा निकै गर्व लाग्छ ।

छिरिङ राप्के लामा : महासचिव
जिपी कोईराला फाउण्डेशन, अमेरिका.

    मनाङको साविकको थोँचे गाविस वडा नं.९ हाल नासोँ गाउँपालिका वडा नं. ५ मा २०२४ सालमा बुबा आच्युङ लामा र आमा पासाङ ल्हमोका सन्तानको रुपमा जन्मिएका छिरिङ राप्के लामा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कका पूर्व अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संघीय परिषद्को सदस्य सचिव र जिपी कोईराला फाउण्डेशन अमेरिकाका महासचिव हुन् । सन् २०१५–०१७ सम्म एनआरएनको आइसीसी सदस्य समेत भईसकेका लामाले सन २०१८ मा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा फिप्ना अवार्ड प्राप्त गरेका थिए भने अरु विभिन्न नेपाली संघसंस्थाहरूबाट पनि सम्मानित हुने अवसर हासिल गरेका छन् । समाजसेवी लामाले हालै जिपी कोईराला फाउन्डेसन केन्द्रबाट कोभिड– १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र न्युयोर्क राज्यको विभिन्न पदाधिकारीहरूबाट कोभिड –१९ हिरो अवार्ड पनि प्राप्त गरेका छन् ।
    मनाङमा थोँचेको प्रकाश ज्योति मा.वि.बाट प्राराम्भिक शिक्षा हासिल गरेर पुल्चोक ईन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनियरिङमा डिप्लोमा र सरस्वती बहुमुखी क्याम्पस काठमाडौमा स्नातक तहसम्म अध्ययन गरेका लामा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आईरहेका छन् । प्रस्तुत छ ः आफ्नो पेशा वा व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि ठूलै योगदान पुर्याउदै आएका अमेरिकाको न्यूयोर्क निवासी मनाङका छिरिङ राप्के लामासँग मनाङ अनलाईनका लागि प्रधान सम्पादक लक्ष्मण बजगाईले अनाईनमार्फत गरेको कुराकानी :  .......................


हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ जस्तो हिमाली जिल्लाको नागरिक अमेरिका जस्तो विकसित मुलुकमा व्यवसाय गरेर बसीरहनु भएको छ ? यहाँको यो बसाईलाई मनाङका दाजुभाई दिदी बहिनीहरुले कसरी हेरेका छन् भन्ने लाग्छ यहाँलाई ?

मनाङ जस्तो दुर्गम जिल्लामा जन्मेको म विभिन्न आरोह अवरोह पार गर्दै संसारकै विकासित देश अमेरिकामा, त्यो पनि न्युयोर्क जस्तो कहिल्यै ननिदाउँने शहरमा आफ्नै व्यवसाय गर्दै जीविकोपार्जन गर्नु आफैमा एक गर्वको महशुस हुन्छ । सायद मनाङबासी दाजुभाई तथा दिदीबहिनीहरूले पनि यसलाई सकारात्मक रूपमै लिनु भएको होला भन्ने लाग्दछ । विदेशमा बसे पनि ‘स्वर्ग जस्तो मनाङ जिल्ला मेरो जिल्ला हो’ भन्न पाउँदा मलाई निकै गर्व लाग्छ । मनाङबासी अरुलाई पनि यस्तै यस्तै लाग्न सक्छ ।

यहाँले अमेरिकामा रहदा सामाजिक संघ संस्थाहरुमा सम्लग्नता जनाएर विभिन्न पदीय जिम्मेवारी वहन गर्दै आउनु भएको छ, यसबाट यहाँको व्यावसायिक जीवन कसरी व्यवस्थापन भई रहेको छ ?

 यी सबै कुरो आफैंमा निर्भर रहने कुरो हो । जहाँसम्म मेरो सवाल छ, म हप्ताको ६ दिन आफ्नो व्यवसायमा ब्यस्त रहन्छु भने बाँकी एक दिन सामाजिक काममा समय दिन्छु । यसको लागि मलाई घरपरिवारको ठुलो साथ र सहयोग पाएको छु । यसरी नै आफ्नो व्यवसायायिक जिवन र सामाजिक कार्यबीच तालमेल मिलाई काम गरिरहेको छु ।

यहाँले विभिन्न अवसरमा तन र मनले सामाजिक सेवा गरिरहनु भएको छ, नेपालको आफ्नो गृह जिल्ला मनाङलाई मात्रै नभएर अन्य जिल्लाहरुमा आफ्नो सहयोग जारी राख्नु भएको छ, समाज सेवामा यहाँले व्यहोर्नु भएको मूख्य चुनौति के हो र कसरी सामना गर्दै आउनुभएको छ ?

 हिजोसम्म अमेरिका बसेर सामाजिक सेवामा योगदा दिन निकै ठूलो चुनौति थियो । सामाजिक सेवा निकै असाधारण काम थियो । नेपालबाट अमेरिका आएर बस्ने नेपालीहरुबीच हिजोसम्म आफ्नै जात, वर्ग, विचार र पार्टीको कुरो हुन्थ्यो । राजनीतिक खिचातानी पनि उत्तिकै हुन्थ्यो । तर यो महामारी कोभिड–१९ ले ती तमाम कुरोहरू बिर्साएर सबैमा सहयोगको भावना जागृति गराई दिएको छ । यो अवस्थामा कसैले पनि जात र भातको कुरो गरेका छैनन्, वर्गको कुरो गरेका छैनन् । सबैमा एक जुट भएर नेपाल र नेपालीको हितको लागि सहयोग गर्नुपर्छ भन्ने भावना जातृत बनाई दियो । सबैको साथ र सहयोग त्यतिकै रह्यो । यसले गर्दा ती सबै अफ्ठ्यारोहरू सहज र सजिलो तवरले चिर्न सक्यौं, त्यस्तो चुनौति र समस्या सामना गर्नु परेन ।

हालै मात्र यहाँ जिपि कोईराला फाउण्डेशन अमेरिकाबाट कोबिड १९ हिरो भोलेन्टिएर अवार्ड र कोविड १९ च्याम्पिएन अफ च्याम्पिएन उपाधीबाट सम्मानित हुनु भएको छ । यो सम्मान मनाङ जिल्लाका छिरिङ राप्के लामालाई नै किन प्राप्त भएको हो ? यस विषयमा प्रष्ट पारिदिनु होस् न ।

मार्चको मध्यान्तरतिर विश्व नै आक्रान्त हुने गरि कोभिड १९ को महामारीले त्राही त्राही बनाएको बेला अमेरिका पनि त्यसबाट अछुतो रहेन । अमेरिकाकै कोभिड ईपिसेन्टरको रूपमा चिनिने म आफैं बस्ने न्युयोर्क राज्यको कुईन्स शहरस्थित एल्मोहर्सट र ज्याक्सन हाईटमा भाईरसले जन–जीवन अस्तव्यस्त र बिकराल बनाएको बेला र दैनिक १०००÷१५०० सय जनाभन्दा बढीले ज्यान गुमाई रहेको स्थितिमा दैनिक ७÷८ घण्टा मैदानमा नै उत्रेर कोरोनालाई जित्न सकिन्छ कि भनी युद्धस्तरमा नेपाली समुदायलगायत अन्य समुदायको दाजुभाई तथा दिदीबहिनीहरूको घरदैलोमा पुगी आवश्यकीय स्वस्थ्य सामग्री र खाद्यान्न पु¥याउने कार्य गरेको हुँ । सायद मैले यस महामारीमा सेवा पुर्याएबापत विभिन्न सङ्घ–संस्थाहरूका साथै न्युयोर्क राज्य र न्युयोर्क शहरको निर्वाचित पदाधिकारीबाट सम्मानित हुने सौभाग्य मिलेको जस्तो लाग्छ । म आफु स्वयम्लाई यस्तो सम्मानहरूबाट सम्मानित होईला भन्ने लागेको थिएन । यो सम्मानित हुने अवसर मेरो जीवनमा एक किसिमको आकस्मिक अवसर रह्यो । मैले कहिल्यै सम्मान पाउला भनी काम गरिन । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले मानवीय सेवा गरेको मात्रै हुँ ।

२०७२ सालमा गएको महाभूकम्प र विगत १ वर्षदेखि कोरोना भाईरसका कारण लाग्ने रोग कोबिड १९ को विश्वब्यापी महामारीका कारण नेपालमा विदेशी पर्यटकको आगमन निकै प्रभावित हुन पुगेको सन्दर्भमा अमेरिकामा रहेर यहाँहरुले नेपालको पर्यटन उद्योगलाई टेवा पुर्याउन सक्ने सम्भावना देख्नु भएको छ त ?

२०७२ सालको महाभुकम्पले देशको अर्थतन्त्र दशौं बर्ष पछाडि धकेलिएको अवस्थामा पुनः कोरोना भाईरसका कारणले लाग्ने काभिड १९ को बिश्वब्यापी महामारीका कारण नेपालमा मात्रै नभई विश्व अर्थतन्त्रमा नै गम्भीर रूपमा असर परेको छ । यसले गर्दा पर्यटन क्षेत्रमा बिश्वब्यापी रूपमा नकारात्मक प्रभाव परेको कुरो यथार्थ हो । यसबाट नेपाल देश अछुतो छैन । त्यसले जवसम्म कोरोनाको भ्याक्सिन सरल र सहज रूपमा संसारभर उपलब्ध हुँदैन तबसम्म पर्यटन उद्योग मात्रै नभई अन्य सम्पूर्ण बिकास कार्य ठप्प रहने निश्चित छ । आशा गरौं चांडोभन्दा चांडो भ्याक्सिन पत्ता लगाई विश्वभरि नै सहज र सरल रूपमा उपलब्ध होस् । यसको लागि सरकारले अभिलम्ब नयाँ कार्य योजना बनाई आवश्यकीय ब्यवस्थापन गर्न जरूरी छ ।

यहाँले छोड्दाखेरिको मनाङ जिल्ला र वर्तमान अवस्थाको मनाङ जिल्लाको भौतिक परिवर्तनलाई कुन रुपमा लिनु भएको छ ?
मैले मनाङ जिल्ला छोड्दाको अवस्था र बर्तमान अवस्थामा धेरै भौतिक परिवर्तन भएको महशुस मैले गरेको छु । त्यतिबेला जिल्लामा मोटर बाटोको कल्पना समेत गरिएको थिएन । तर आज जिल्लाको एककुनादेखि अर्को कुनासम्म मोटर बाटो पुगेको छ । यसले गर्दा अन्य धेरै भौतिक संरचनाहरू पनि बनेको अवस्था छ । यसरी बिकाशको उन्नति देख्दा विदेशीएका हामीहरू जस्ता नेपालीको मन हर्षित हुनु स्वभाविक हो साथै देश सङ्घीयतामा गईसकेको परिप्रेक्ष्यमा देशको तल्लो निकायलाई अधिकारसम्पन्न बनाई जनतालाई सहज र सरल रूपमा सेवा पाउन सक्यो भन्ने महशुस भएको छ ।

अमेरिकामा रहेर पनि आफ्नो गृह जिल्ला मनाङमा विभिन्न अवसरमा सहयोग जुटाउने कार्य जारी राख्नु भएको छ, जिल्लाबासीहरुले यहाँको सहयोगको कस्तो मूल्यांकन गरेको पाउनु भएको छ ?

प्रवासमा रहेतापनि आफ्नो जन्मभूमि एवं जिल्लावासीहरूको दुःख सुखमा साथ दिन पाउँदा आफुलाई गौरवान्दित ठान्दछु । ठुलो सहयोग गर्न नसकेतापनि विभिन्न समयमा त्यहाँ भईपरी आउने मानवीय एवं प्राकृतिक कष्टमा साथ र सहयोग गर्ने मौका पाएको छु । पछिल्लो समयमा नासों र चामे गाउँपलिकामा रहेका विपन्न एवं दलित ७१ परिवारलाई घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका वर्तमान अध्यक्ष श्रीमती नीमा ल्हमो र महासचिव छिन्चोम लामासँग सहकार्य गरी खाद्यान्न राहत बितरण गर्ने कार्य एवं श्री प्रकाश ज्योति उच्च मा.बि. र नासों गा.पा.मा रहेका स्वास्थ्य कर्मी, सुरक्षाकर्मी एवं जनप्रतिनिधि हरूलाई एन ल्ढछ मास्क ५०० थान बितरण गर्ने सौभाग्य प्राप्त भयो । जिल्लावासीहरूलाई यसरी सहयोग गर्न पाउँदा ब्यक्तिगत रूपमा म गौरवान्दित हुनु स्वाभाविकै हो । विशेषगरी यहाँहरूबाट सकारात्मक हौसला र प्रेरणा  पाउँदा राम्रो कामको सबैले मुल्यांकन गर्दारहेछन् भन्ने महशुस गरेको छु ।

पछिल्लो समायमा आमसञ्चारको विकासले यहाँ मनाङ जिल्लाबाट टाढा हुनु हुनुहुन्न, जिल्लाको जीवनशैलीमा राजनीतिक परिवर्तनको कुनै प्रभाव पनि देख्नु भएको छ ?

अवश्यपनि आमसञ्चारले अहिले मलाई भौतिक रूपमा आफ्नो जिल्लामा नपुर्याएतापनि हरपल मनाङसँग जोडिरहेको छ । त्यहाँको जनजीवन, बिकाश निर्माणलगायत हरेक सामाजिक गतिविधिहरू आमसञ्चार माध्यमबाट मानसपटलमा तत्कालै ताजा गराई दिन्छ । कुरा गरौं राजनीतिक परिवर्तनले त्यहाँको जीवनशैलीमा के कस्तो प्रभाव देखिएको छ ? भन्ने वारेमा । विगतमा मनाङका बासिन्दाहरुमा निकै गहिरो एकता थियो । पछिल्लो समयमा त्यहाको जीवनशैलीमा राजनीतिक मतभेद झल्किने कुनै गतिविधि हुन्छकी अथवा पहिलेको जस्तो एकता देख्न नपाईने हो की भन्ने सामाजिक सञ्जालहरु प्रयोगकर्ताहरुको कहिले काही आउने पोष्टहरुले चिन्ता देखाउँछ । जनस्तरमा मानवीय विकास र नेतृत्व विकासका लागि राजनीतिक दलहरुबीच प्रतिष्पर्धा हुनु त जरुरी छ । तर राजनीतिक मतभेद देखाएर थोरै जनसंख्या भएको जिल्ला मनाङमा दलहरुमा आबद्ध भएको ब्यक्ति र परिवारबीच भड्काव ल्याउने काम कुनै दल वा दलसँग सदस्यहरुले गर्नु हुदैन भन्ने मेरो मान्यता हो ।

यहाँको राजनीतिक अभिरुचिको बारेमा छोटकरीमा भन्नु पर्दा के भन्नु हुन्छ ?

संसारको विकसित र प्रजातान्त्रिक मुलुक अमेरिका रहँदा यहाँ सिकेका ज्ञान सीप र संस्कारहरू त्यहाँ लगी त्यहाँको बिकासमा सहभागिता जनाउने मेरो दृढ ईच्छा छ । यहाँ पनि विभिन्न प्रजातान्त्रिक सङ्घसंस्थाहरूमा सकृयरूपमा सहभागिता भैरहेको र जिल्लावासीहरूले पनि सोको आ–आफ्नै ढङ्गले मुल्याङ्कन गरीरहेको महशुस गरेको छु । २१ औं शताब्दीको बिश्वमा सही र प्रजातान्त्रिक बिचार प्रवाहमा मेरो राजनैतिक बिचारको त्यहाँ धेरथोर प्रभाव पर्नु स्वभाविक हो ।

मनाङ जिल्लाबासीहरुलाई यहाँको कुनै सन्देश छ त ?

मनाङको समग्र बिकासको लागि हामी मनाङबासी दाजुभाई दिदीबहिनीहरु राजनैतिक दल, जात, धर्म, लिङ्ग, भाषाभन्दा माथी उठी सर्वाङ्गिण बिकासमा एकजुट हुन आवश्यक छ । सोका लागि सर्वपक्षीय सहमती, सहकार्य र एकतालाई जोड दिई ठोस खाका सहित अगाडि बढेमा सफलता मिल्नेछ भन्ने लाग्दछ । त्यसैले हामी जुनसुकै राजनीतिक दलमा संबद्ध भएको भए पनि जिल्लाको हितका लागि एक जुटौं बनौं भन्न चाहन्छु ।

अन्त्यमा मैले सोध्न छुटाएको र यहाँलाई भन्नै मन लागेको कुनै कुरा छ त ?

कोभिड–१९ को प्रभावले वर्तमान विश्व नै त्रसित भई चरम पीडा भोगिरहेको वर्तमान परिवेशमा जिल्लावासी सम्पुर्ण दाजुभाई दिदीबहिनीहरूले सुरक्षा सतर्कता अपनाई आफू र आफन्तजन सबैको स्वस्थ्यमा ध्यान दिन अनुरोध गर्दछु । नेपाल सरकार स्वस्थ्य मन्त्रालयले तोकेको मापदण्डमा रही आवश्यक आचरण पालना गर्नु हुन समेत अनुरोध छ । तत्काल खोप बन्दै गरेको र आई नसकेको परिवेशमा हेलचक्रंयाई नगरी आ–आफ्नो ज्यु–ज्यानको सुरक्षा गर्न म समस्त जिल्लावासीहरूलाई विनम्र अनुरोध गर्दछु । साथै मनाङ अनलाईनले मलाई आफ्नो महत्वपूर्ण सञ्चारमाध्यम मार्फत मेरा भावनाहरू राख्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । भविष्यमा पनि हरदम जिल्लावासीको सुख दुःखमा साथ दिईरहन पाउँ । तपाईंहरूको सेवा नै मेरो धर्म हो । जय मनाङ ! जय नेपाल !!

 

सम्बन्धित समाचार