प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कली फेसबुक र ट्विटर अकाउण्ट

प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कली फेसबुक र ट्विटर अकाउण्ट


प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेका छन् ।
देउवाले प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरेको तस्बिर राखेर फेसबुक तथा ट्विटर आईडी सञ्चालन गर्दै आउनुभएको छ तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको नक्कली आईडीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चको विषयमा उल्लेख छ ।
यस विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई लेखेर पठाइसकेको र अनुसन्धान भइरहेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले बताउनु भयो । नक्कली आईडी बनाएर प्रधानमन्त्रीको बदनाम गर्ने प्रयास भएको र लोकतन्त्रमा विश्वास राख्ने, देशमा सुशासन कायम गरेर राम्रो काम गर्न चाहने प्रधानमन्त्रीलाई नक्कली आईडी राखेर बदनाम गर्न खोजिएको उहाँको भनाइ छ । देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न पनि नदिनेहरूको चालबाजी भएको उहाँको तर्क छ ।
हाल सामाजिक सञ्जालको सदुपयोग गर्नेभन्दा पनि दुरुपयोग गर्ने पनि देखिन थालेका छन् ।

सम्बन्धित समाचार