१२ औं राष्ट्रिय जनगणना-२०७८ अभियान प्रभावित

१२ औं  राष्ट्रिय जनगणना-२०७८ अभियान प्रभावित

कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना-२०७८ अभियान प्रभावित भएको छ ।

सामान्य २०७८ साल जेठ २५ गते मंगलबारदेखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।

हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार राष्ट्रिय जनगणना तोकिएको मितिमा हुन नसकेको यो पहिलो घटना हो । उनले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना  स्थगित भएको  समाचार आएको जानकारीदिनुभयो ।

कोरोना महामारीका कारण रोकिएको गणनाको काम अवस्था अनुकुल बन्दै गए मध्य साउनदेिख मध्य असोजको बीचमा गर्ने गरी तयारी सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिनुभयो । ‘यो आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न कोरोनाले दिन्छ भन्नेमा ढुक्क भएनौं, त्यसैले अर्को आर्थिक वर्षको लागि बजेट व्यवस्थापन गरेर साउनदेखि असोजसम्ममा जनगणना सम्पन्न गर्ने तयारी गरेका भइरेको विभागका अधिकृत चौलागाईंले बताउनुभयो । यस अघि तालिम दिएका सुपरीवेक्षकहरुलाई पनि रिफ्रेसमेन्ट तालिम दिनुपर्ने हुन्छ, त्यसैले यसमा समय लाग्छ । आगामी १५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको पनि विभागले जनाएको छ ।

सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक समेत छनोट गरिसकेको विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको छ ।

गत २० वैशाखसम्म तालिमलाई निरन्तरता दिँदै आएको विभागले कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि तालिम लगायत सबै कार्यक्रम स्थगित गरेको छ । वि.सं. १९६८ सालदेखि हरेक १०-१० वर्षमा हुँदै आएको जनगणनाको यो १२ औं पटक हो ।

सम्बन्धित समाचार