स्याउ जोन मनाङलाई साडे ७ करोड बजेट परेको जानकारी सार्वजनिक

स्याउ जोन मनाङलाई साडे ७ करोड बजेट परेको जानकारी सार्वजनिक

    चामे, १७ असोज । स्याउ जोन मनाङलई यस वर्ष ७ करोड ६८ लाख ८० हजार रुपैया बजेट परेको जानकारी सार्वजनिक भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मनाङले यसै साता एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको हो ।
    ब्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन बिकास कार्यक्रम सञ्चालन कार्यविधि २०७३ को रणनीति अनुसार गत वर्ष घोषित ‘मनाङ स्याउ जोन’ लाई १ करोड २९ लाख रुपैँया परेको थियो । हरेक जिल्लाभित्र सबैभन्दा बढी उत्पादन हुने कृषि उपजको आधारमा विशेष उत्पादन क्षेत्र घोषणा गरी कार्यान्वयन गर्ने संघीय सरकारको नीतिअनुरुप मनाङ जिल्लालाई ‘स्याउ जोन’ मानिएको र त्यहि अनुरुप सरकारले बजेट समेत छुट्याएको स्याउ जोन मनाङका कृषि अधिकृत राजेश सिलवालले बताए ।


    स्याउ जोन कार्यक्रम दोस्रो बर्षमा प्रबेश गर्दै गर्दा मनाङमा स्याउको ब्यावसायिक रुपमा खेती गर्दै आएका स्याउ किसानहरुसँग समन्वय गरी काम गर्दै आएको उनले जानकारी दिए । हरेक जिल्लाभित्र उत्पादन हुने खाद्यबाली, तरकारी, फलफूल खेती, पशुपालनलगायत उत्पादन हुने क्षेत्रहरु वर्गीकरण गरी सबैभन्दा बढी मात्रामा उत्पादन हुन सक्ने उपजको पहिचान गरी नेपालको बिभिन्न जिल्लाहरुमा ‘जोन कार्यक्रम’ सञ्चालन गरिएकोमा मनाङ जिल्ला ‘स्याउ जोन’मा परेको हो ।


    ईकाई स्याउ जोन मनाङले स्थानीय तहका जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग समन्वयकारी गोष्ठीको आयोजना गरी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम र स्याउ जोनको रुपमा ब्यावसायिक स्याउ खेती गर्दै आएका मनाङका किसानहरुलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको थियो । यक्त गोष्ठीमा फापर, आलु, तरकारी खेती मनाङमा राम्रै उत्पादन हुने भएपनि स्याउको उत्पादन बढी लाभदायक हुने भएकाले मनाङलाई स्याउजोनको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण भएको स्याउ जोन मनाङका कृषि अधिकृत राजेश सिलवालले जानकारी दिए ।
    मनाङ जिल्लामा हाल ४ गाउँपालिका रहेकोमा ३ गाउँपालिकाहरु मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासोँ गाउँपालिकामा सबै स्थानहरुमा स्याउ खेती राम्रो मानिएको र नार्पाभूमि गाउँपालिकाको मेताबेशी वडा नं. २ मा मात्र परिक्षणको लागि स्याउ लागाईएको स्याउ जोन मनाङले जनाएको छ । मनाङमा स्याउ जोन मनाङको अनुसन्धानमा ९०० हेक्टर क्षेत्रफलमा स्याउ खेती राम्रो हुने भएतापनि हालको क्षेत्रफल २४० हेक्टर मात्र रहेकोमा उत्पादनसिल क्षेत्रफल भने ९२ हेक्टर मात्र भएको र उत्पादकत्व १४.८ टन प्रति हेक्टर क्षेत्रफल रहेको स्याउ जोन मनाङको तथ्याङ्कमा उल्लेख छ ।


    यहि तथ्याङ्कलाई आधार मान्ने हो भने मनाङमा जम्मा उत्पादन १,३८० टन उत्पादन हुन आउछ । आम्दानी ५६ करोडको मनाङबाट मात्रै स्याउ अन्य जिल्लामा निर्यात गर्न सक्ने जानेको अनुमान छ । हाल मनाङमा उत्पादित स्याउको मुल्य रु १२० प्रति केजी पर्न जान्छ । बर्षे नि नेपालमा बाहिर अन्य देशहरुबाट मात्रै १३ अर्ब रुपैयाको स्याउ आयात गर्ने गरेको पाईन्छ । यस्तै मनाङको स्याउ उत्पादनलाई सहज र सरल बनाउन सके मनाङ जिल्लाको स्याउले मात्रै भने पनि नेपालमा बाहिरी देशबाट आयात गरिने स्याउमा कमी ल्याई अन्य देशबाट आयात गरिने स्याउमा कम गराउन र स्वदेशी उत्पादित स्याउबाट आम्दानी गर्न सकिन्छ ।


    हालसम्म स्याउ जोन मनाङले स्याउ खेती गर्ने किसानहरुलाई बिभिन्न अनुदान, सेवा, सीपमुलक कार्यक्रमहरु लगायत अन्य योजना बनाएर काम गर्दै आएको छ । ५० प्रतिशत अनुदानदेखि विभिन्न शीर्षकहरुमा फरक फरक अनुदान दिदै ८५ प्रतिशतसम्म अनुदान किसानहरुलाई दिदै आएको स्याउ जोन मनाङले जनाएको छ ।
    मनाङमा हालसम्म गाला, फुजी, गोल्डेन र लोकल स्याउ खेती गरिदै आएको पाईन्छ । जिल्लाभित्रै स्याउको नर्सरी नहुदा स्याउको बिरुवामा कमी तथा महङगी हुन गएकोले किसानहरुलाई समस्या परेको किसानहरुको गुनासो छ । हाल स्याउ जोन मनाङले ५० प्रतिशत अनुदानमा मनाङका स्याउ कृषकहरुलाई लोकल स्याउको बेर्ना तथा बिरुवा रु ४० मा उपलब्ध गराउदै आएको छ । गाला, फुजी र गोल्डेन स्याउको बिरुवा भने बिदेशबाट आयात गर्नु पर्ने भएकोले प्रति बिरुवा १२०० रुपैँयासम्म पर्न गएको जोनले जनाएको छ । प्रति बिरुवा नै १२०० रुपैँयासम्म पर्न गएकोले पनि सबै किसिमका किसानहरुले गाला, फुजी र गोल्डेन जस्ता स्याउको खेती गर्न नसकेको किसानहरुको गुनासो छ । सरल तथा सहज सवारी साधन र सडक नहुदा मनाङको स्याउले बजार तताउन सकेको छैन । महङगो ढुवानीलगायत प्याकिङ जस्ता समस्याले किसानहरुलाई थप समस्या रहेको  स्याउ कृषक पशुपति अधिकारीको भनाई छ ।