जिल्ला प्रसाशन कार्यालय मनाङद्वारा कोरोना भाईरससम्बन्धी सूचना जारी

जिल्ला प्रसाशन कार्यालय मनाङद्वारा कोरोना भाईरससम्बन्धी सूचना जारी

चामे, ११ असोज/ जिल्ला प्रशासन कार्यालय मनाङले कोबिड १९ अर्थात कोरोना भाईरस रोकथाम र नियन्त्रण सम्बन्धमा एक विशेष सूचना जारी गरेको छ । कार्यालयले प्रमूख जिल्ला अधिकारी ध्रुब गिरीद्वारा हस्ताक्षेरित पछिल्लो सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मनाङले गत शुक्रवार ४ बुँदे सूचना जारी गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको कारण लाग्ने रोक कोविड १९ संक्रमणबाट नेपाल र मनाङ जिल्ला समते मुक्त नरहेको सन्दर्भमा यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला कोबिड–१९ संकट व्यवस्थापन केन्द्र (-DCCMC_) को बैठक बसेर यस्तो सूचना जारी गरिएको प्रमूख जिल्ला अधिकारी गिरीले जानकारी दिएका छन् । 

कोविड–१९ अर्थात कोरोना भाईरसको सम्बन्धमा नेपाल सरकार लगायत विभिन्न निकायबाट जारी पछिल्ला निर्णय र परिपत्रको स्वास्थ्य कार्यालय समेतबाट बैठकमा जानकारी गराईएको भन्दै सूचनामा भनिएको छ ‘विगतका बैठकहरुबाट भएका निर्णयहरुको कार्यान्वयन सन्तोषजनक रहेको महशुस भएको छ । मनाङ ङिस्याङ गाउँपालिकामा रहेको एम्बुलेन्स मर्मत नभएको हुँदा शिघ्र मर्मत गरी उपयुक्त ढंगले प्रयोग गर्न आन्तरिक पार्टिशनका लागि जिल्ला सुरक्षा समितिसँग समन्वय गर्न अनुरोध गर्ने र लम्जुङमा रहेको जिल्ला रेडक्रसको एम्बुलेन्स पनि बाटो सूचारु हुन साथ ल्याई तयारी हालतमा राख्ने तयारी भईरहेको छ ।’

त्यसैगरी जारी सूचनामा मुलुकभर र छिमेकी जिल्लामा पनि संक्रमितको संख्या बढ्दै जाँदा संक्रमणको जोखिम बढ्दै गईरहेको परिप्रेक्ष्यमा हाल नेपाल सरकारको निर्णय अनुसार सार्वजनिक यातायात लगायत केही सेवा र व्यवसाय पनि खुल्ला  भएका र अवरुद्ध बेशीशहर चामे सडकको अवारोध पनि छिट्टै खुल्ने हुँदा जिल्लामा यात्रु र सवारीको चाप बढ्ने भएकोले संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न जिल्लाको प्रवेश विन्दु र अन्यत्र पनि देहायअनुसार गरी चेकजाँच र निगरानी व्यवस्थित र प्रभावकारी बनाउने निर्णय भएको पनि उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय मनाङले जारी गरेको सूचनामा भनिएको छ ‘DCCMC को पूर्व निर्णयानुसार जिल्लाका स्थानीय बासिन्दा र सेवारत राष्ट्रसेवक बाहेक काम विशेषले आउनेहरु साथै घुमफिरका लागि जिल्ला बाहिरबाट आउने समेतको लागि ७२ घण्टा भित्रको नेगेटिभ RT-PCR रिपोर्ट अनिवार्य गर्ने र सो बाहेकलाई प्रवेश नदिनुका साथै चेकजाँचको व्यवस्थापन जिल्ला प्रहरी कार्यालयले गर्ने तथा अनुगमन, सहयोग र समन्वय DCCMC स्थानीय पालिका र सरोकारवाला सबैले निर्णय गरिएको छ ।’ जिल्ला भित्रिने र आवगमन गर्ने सबैलाई मास्कको प्रयोग अनिवार्य गराउने र पूर्व निर्णय अनुसार बेशिसहर चामे सडकमा चल्ने सामाग्री सहित यात्रु बोक्ने पिकअपहरुमा सामाग्री सहित बढीमा ६ जना भन्दा बढी राखी सञ्चालन गर्न नदिने उक्त सूचनामा जनाईएको छ ।

होटल रेष्टुरेण्ट खुल्ला गरी सेवा प्रदान गर्ने व्यवसायीहरुले बढ्दो जोखिमलाई दृष्टिगत गरी पालिकाहरुको सुझावलाई समेत मध्यनजर गरी भौतिक÷सामाजिक दुरी कायम गरेर मास्क, पञ्जा र भाईजरको प्रयोग गरी ग्राहकलाई सेवा दिनु पर्ने भन्दै जारी उक्त सूचनामा एक पटक प्रयोग भएको लजको कोठा निर्मलीकरण गरी ४८ घण्टा पछि र सामान्य सरसफाई गरी ७२ घण्टा पछि मात्र प्रयोग गर्न लगाउने भनिएको छ । सो को अनुगमन स्थानीय व्यवसायी, संघ संस्था, टोल विकास संस्था÷वडा र गाउँपालिकाले गर्ने गराउन सबै गाउँपालिकाहरुलाई अनुरोध गरी पठाउने समेत जानकारी सोही सूचनाद्वारा जानकारी गराईएको छ ।

जिल्ला प्रशासनको उक्त सूचनामा संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै पालिकाहरुले थप क्वारेन्टाईन र आईसोलेशन व्यवस्थापन गर्नु पर्ने भएकाले सो को लागि सबै पालिकाहरुलाई अनुरोध गरी पठाउने निर्णय भएको र लक्षणयुक्त संक्रमितलाई मात्र ल्याउन नेपाल रेडक्रस सोसाईटी र मनाङ ङिस्याङ गाउँपालिकाको एम्बुलेन्स प्रयोग गर्न तयारी अवस्थामा राख्ने जानकारी पनि उक्त सूचनामा उल्लेख गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय मनाङले यस विपरित कामकारवाही भए गरेको पाईएमा संक्रमक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र अन्य प्रचलित नेपालको कानून बमोजिम कारवाही हुने व्यहोरा समेत उक्त सूचनामा समेटेको छ । 


सम्बन्धित समाचार