दोर्दीका क्रसरमा छड्के अनुगमन

दोर्दीका क्रसरमा छड्के अनुगमन

लमजुङ — जिल्लास्तरीय अनुगमन समितिले दोर्दी खोलामा सञ्चालित क्रसर उद्योगको छड्के अनुगमन गरेको छ । जलविद्युत् आयोजनाले सञ्चालन गरेको जस्तै देखिने गरी क्रसर चलाएको थाहा पाएपछि समितिले अनुगमन गर्दै कागजात मागेको हो । तत्काल केही प्रमाण फेला नपरे पनि यथार्थ बुझ्ने उद्देश्यले समितिले कागजपत्र माग गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।

नदी तथा खोलानाला छेउमा अवैध क्रसर उद्योग सञ्चालन र ढुंगा, गिट्टी, बालुवा तस्करी भइरहेको सूचना आएपछि जनप्रतिनिधि र प्रशासनले शुक्रबार र शनिबार दोर्दी करिडोरमा छड्के अनुगमन गरेका थिए । अनुगमनका क्रममा क्रसर धनी नभेटिएको र कागजातपत्र लिएर प्रशासन र स्थानीय तहमा जान भनिएको छ ।

दोर्दी करिडोरमा २७ मेगावाटको दोर्दीखोला, १२ मेगावाटको दोर्दी–१, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । दोर्दीको शाखा खोला छ्याङ्दीमा चार मेगावाटको माथिल्लो छ्याङ्दी खोला साना जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यस क्षेत्रमा आयोजनाले पनि आफै क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । केहीले आयोजना वरपर आयोजनाले सञ्चालन गरेजस्तै बुझिने गरी क्रसर सञ्चालन गरेको पाइएको अनुगमनमा खटिएका अधिकारीले बताए ।

बेंसीसहर–१ उदिपुरक्षेत्रमा सञ्चालित दुई क्रसर उद्योग तीन महिनायता बन्द छन् । डुम्रे–बेंसीसहर राजमार्गको उदिपुर सैनिक ब्यारेक नजिकै त्रिवेणी रोडाढुंगा उद्योगले सडक नै भत्काउने गरी क्रसर सञ्चालन गरेको थियो । सडक र मर्स्याङ्दी नदीको बीचमा लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सनले क्रसर सञ्चालन गर्दै आएको थियो । ‘अवैध क्रसर उद्योग सञ्चालन गर्न दिँदैनौं,’ प्रजिअ खड्काले भने ।
अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले स्थानीय तहमा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवाको तस्करी भइरहेको जानकारी प्राप्त भएको बताए ।

यसबारे जानकारी गराउन हरेक स्थानीय तहलाई शुक्रबारबाट एक साताको म्याद राखेर पत्राचार गरिएको छ । ‘अवैध रुपमा प्राकृतिक स्रोत दोहन र क्रसर सञ्चालन गरेको सूचना आयो । क्रसर सञ्चालनको सम्पूर्ण जानकारी पठाउन निर्देशन दिएका छौं,’ उनले भने ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले दोर्दी करिडोरमा क्रसर उद्योग सञ्चालनमा रहेको बताए । ‘हरेक आयोजनाको क्रसर सञ्चालनमा छ । कसैको एकभन्दा बढी पनि छन् । हामीले आयोजनाका क्रसर कुनकुन हुन् भनेर अनौपचारिक, औपचारिक रुपमा आयोजनासँग कुरा गरेका छौं,’ उनले भने, ‘कागजापत्र पेस गर्न भने पनि केही साथीहरू दर्ता छ भन्छन् । तर, कागजातपत्र पेस गर्नुभन्दा मानिरहनुभएको छैन ।’

सम्बन्धित समाचार