कोरोना भाईरसका कारण चीनमा एकैदिनमा १०८ जनाको मृत्‍यु

कोरोना भाईरसका कारण चीनमा एकैदिनमा १०८ जनाको मृत्‍यु

बेइजिङ — नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।
चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो। आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो। सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए।कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन् । यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।

आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।


नयाँ वर्षको बिदा सकियो


थपिएको बिदा सकिएसँगै सोमबारबाट चिनियाँ नागरिक काममा फर्किएका छन् । नोवल कोराना भाइरस संक्रमणबाट बच्न भन्दै सरकारले लुनार नयाँ वर्षको बिदा थपेको थियो । सरकारले लगाएको प्रतिबन्ध खुकुलो गरेसँगै सर्वसाधारण सामान्य जीवनमा फर्किएका हुन् । नयाँ वर्षको बिदामा १० दिन थप गरिएको थियो । बिदा जनवरीको अन्त्यमा सकिनुपर्थ्यो । सोमबारबाट कार्यालय खुले पनि अझै अधिकांश बन्दै रहेको र धेरैले घरबाटै काम गरिरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । काममा हिँडेका पनि अनुहारमा मास्क लगाएका देखिन्थे ।


कहाँ कति संक्रमित?

चीन – १०१६ मृत्यु, ४२,६३८ संक्रमित

हङकङ – १ मृत्यु, ४२ संक्रमित

फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

संक्रमित मात्रै

जापान – १६१

सिंगापुर – ४५

थाइल्याण्ड – ३२

दक्षिण कोरिया – २८

ताइवान – १८

अस्ट्रेलिया – १५

मलेसिया – १८

जर्मनी – १४

भियतनाम – १४

अमेरिका – १३

मकाओ – १०

क्यानडा – ७

फ्रान्स – ११

यूएई – ८

इटाली – ३

भारत – ३

बेलायत – ८

रुस – २

श्रीलंका – १

कम्बोडिया – १

फिनल्याण्ड – १

नेपाल – १

स्विडेन – १

स्पेन – १

बेल्जियम – १

सम्बन्धित समाचार