स्वयम्भूनाथको केहि संरचना भत्किने हुँदा मनाङ समाजको गहिरो चिन्ता

स्वयम्भूनाथको केहि संरचना भत्किने हुँदा मनाङ समाजको गहिरो चिन्ता

काठमाडौं, ११ मंसिर / विश्व सम्पदाको सूचिमा रहेको स्वयम्भूनाथको केहि भाग कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार योजनाले भत्काउने तयारी गरिरहेको बेला मनाङ समाजले बैकल्पिक उपाय अपनाउन योजनाका अधिकारीहरुलाई आग्रह गरेको छ । आज मनाङअन्लाईनसँगै कुरा गर्दै मनङ समाज सेवा समितिका अध्यक्ष सुनिलछेतेन गुरुङले यस्तो आग्रह गरेका हुन् ।

सडक विस्तार आयोजनाले विश्व सम्पदा सूचिमा पर्ने स्वयम्भूनाथ पश्चिमतिरका केही भागहरु समेत भत्काउँदा काठमाडौंमा बसोबास गर्दै आएका मनाङका बासिन्दाहरुको तन, मन र धन खर्च गरेर निर्माण गरिएका साङ्गेतुंगु छ्योर्तेन र अन्य धार्मिक संरचना पनि ध्वस्त हुने भएपछि ती संरचना भत्काउनुभन्दा कलंकीमा निर्माण गरिएको सडक जस्तै भूमिगत सडक निर्माणको विकल्प अपनाएर विश्व सम्पदा सूचिमा रहेको स्वयम्भुनाथको भौतिक अवस्था नबिगार्न आफूहरुले सरोकारवाला निकायलाई आग्रह गर्दै आएको अध्यक्ष गुरुङले बताए । 

योजनाले विश्व सम्पदा सूचिमा रहेको स्वयम्भू क्षेत्रका केहि धार्मिक संरचना भत्काउने भएपछि स्वयम्भू क्षेत्रका विभिन्न संघसंस्थाहरुले आपत्ति जनाउदै विश्व सम्पदामा सूचिकृत स्वयम्भू क्षेत्र बचाउ अभियान सञ्चालन भईरहेको र यस अभियानमा साथ दिदै सरकारको ध्यानाकर्षण गराउन मनाङबासी दाजुभाई दिदीवहिनीहरुसँग आव्हान समेत गरेको समितिका अध्यक्ष सुनिल गुरुङले जानकारी दिएका छन् । आफूहरु विकास विरोधी नभएको र सरकारलाई सहयोग समेत गर्दै आईरहेकोले यसमा कुनै भ्रम नराखी विश्व सम्पदा सूचिमा सूचिकृत गौरवमय संरचना सुरक्षित राख्न आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आफ्नो आग्रह रहेको उनले बताए । 

समितिका अध्यक्ष गुरुङले थपेका छन् ‘सरकारले पशुपतिनाथलगायतका यस्ता अन्य सांस्कृतिक एवं धार्मिक क्षेत्रमा ठूलो परिमाणको आर्थिक बजेट उपलब्ध गराउँदै आएको तर शान्तिका दूत भगवान बुद्धको प्रतिक झल्कने स्वयम्भूनाथमा यसरी बजेट सहितको योजना बनाउनुको सट्टा उल्टै सडक विकासका नाममा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा भत्काउने र तोड्फोड गर्ने जस्तो काम गर्दा हाम्रो आस्थामा चोट पुगेको छ । विश्व सम्पदा सूचिमा सूचिकृत कुनै पनि संरचना भत्काउने र तोडफोड गर्ने काम कँहि कसैले गरको पाईएको छैन । तर स्वयम्भूनाथमा नै यस्तो अवस्था देख्नु पर्दा हामी अत्यन्तै मर्माहत भएका छौं ।’

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार योजनाले विश्व सम्पदा सूचिमा सूचिकृत स्यम्भू क्षेत्रको विश्व सम्पदा सूचिमा सीमांकन भएका क्षेत्रभित्र स्वयम्भूपश्चिमतिरको ८ मिटर र १४ मिटर दुरीको चौडाई कायम गर्न भत्काउने चिन्ह समेत लगाएकोले उक्त विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्र बचाउ अभियान सञ्चालन गर्न लागगिएको अभियानको सचिवालय प्रमूख सुनिल गुरुङले बताए । सचिवालय प्रमूख गुरुङका अनुसार विकासको गति अवरुद्ध नहुने र धार्मिक सम्पदा संरक्षण हुने गरी सडक विस्तार गर्न सम्बन्धित पक्षलाई सचेत गराउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो ।

    


सम्बन्धित समाचार