ललिता निवास जग्गा प्रकरण : उम्कन खोज्दैछन् लालपुर्जामा फोटो टाँस्‍नेहरू

ललिता निवास जग्गा प्रकरण : उम्कन खोज्दैछन् लालपुर्जामा फोटो टाँस्‍नेहरू

काठमाडौँ — मालपोत विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यले २०४९ सालमा आफ्ना ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीलाई कार्यकक्षमा बोलाए । कार्यालयमा प्रवेश गरेर बसेपछि आचार्यले ज्वाइँतिर केही कागजात तेर्स्याए र एउटा ठाउँमा बूढीऔंठाले देखाई सही गर्न भने । के कागज हो ? कस्तो हो ? ससुराले किन सही गर्न भनेका हुन् ? ज्वाइँ वैकुण्ठ अलमलमा परे । ‘आफ्नै ससुराको विश्वास छैन र ?’ महानिर्देशक जंगिए । ससुराले भनेको ठाउँमा सही गरेर वैकुण्ठ फर्किए ।

मैले ललिता निवास क्याम्पभित्रको जग्गा किनेको छैन । ससुराले बोलाएर जंगिएपछि सही गरेर फर्किएको हुँ । २०/२५ वर्षपछि आज जग्गाको खास कुरा र कारोबार थाहा पाएँ,’ दिवंगत भइसकेका आफ्ना ससुराविरुद्ध अख्तियारमा बयान दिन बाध्य भएका वैकुण्ठले भनेका छन्, ‘मलाई दस्तखत गराउने र पदको दुरुपयोग गर्ने काम उहाँको हो । यस सम्बन्धमा मलाई केही जानकारी छैन ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ससुरा र ज्वाइँ दुवैलाई मुद्दा चलाएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा तत्कालीन मालपोत र त्यसका कर्मचारीले चलखेल गरी २०४९ सालमा राणा परिवारलाई फिर्ता गराएका थिए । ११४ रोपनी जग्गा फिर्ता गर्ने क्रममा संलग्न कर्मचारीले ‘पञ्चायतकालमा जफत गरिएकाले फिर्ता भएको’ व्यहोरा तयार पारे भने अरू प्रभावशाली कर्मचारीले बाहिर बसेर चलखेल गरे । फिर्ता भएपछि राणा परिवारले केही जग्गा घूसस्वरूप कर्मचारीका आफन्तका नाममा बकस गरे । अहिले फन्दामा परेपछि लालपुर्जामा फोटो टाँस्नेहरू अनेक बयान गरेर उम्किने प्रयासमा छन् ।

सरकारी जग्गा व्यक्तिलाई दिने काममा मालपोत विभागबाट स्वीकृत गर्ने एक खेलाडी मुकुन्दप्रसाद आचार्य हुन् भने अर्का धर्मप्रसाद गौतम हुन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अध्ययनले कागजातसम्बन्धी सबै काम गौतमले गरेको भेटाएको छ । कालोपुलमा बस्ने वृद्ध अवस्थाका उनी अनेक रोगबाट पीडित छन् । अख्तियारमा उनलाई ल्याएर बयान गराउन हम्मेहम्मे परेको थियो ।

तिनै गौतमले आफ्ना साढुदाइको छोरा (भतिज) मोहनप्रसाद भट्टराईका नाममा जग्गा लुकाएको खुल्यो । बयानमा भने मोहनले कुरा चपाएका छन् । उनले भनेका छन्, ‘हामीले संयुक्त रूपमा मालपोत कार्यालय डिल्लीबजारबाट बकस पास गरी लिएका थियौं । राणा परिवारसँग मेरो कुनै चिनजान छैन ।’ त्यति हुँदाहुँदै पनि उनले ‘जग्गाको मूल्य लिएर मात्रै पास गरिदिएको’ भन्न छाडेका छैनन् । निर्वाचन आयुक्तबाट समेत अवकाश पाइसकेका सुधीरकुमार शाहको राणा परिवारसँग घुमाउरो नाता पर्छ । भक्तपुर मालपोत कार्यालयमा कार्यरत रहेका बेला उनले डिल्लीबजारमा भएका सबै चलखेल बुझेका थिए । जग्गाका बिचौलियालाई पनि राणा परिवार भेटाइदिने सम्पर्कसूत्र चाहिएको थियो । सुधीर आफ्ना मित्र गेहनाथ भण्डारीका साथ खेलमा सक्रिय भइहाले तर पर्दा पछाडि काम गरेका उनीहरू असम्बन्धित कार्यालयको निर्णयमा कागजी रूपमा जोडिने अवस्था नै भएन । जग्गा पास गर्ने बेला दुवैले श्रीमती अघि सारे । सुधीरकी श्रीमती उर्मिलाको बयानअनुसार जग्गा दलाल रामनाथ घिमिरेले जग्गाधनी भेटाइदिएका हुन् । उर्मिला र गेहनाथकी श्रीमती भुवनकुमारीको बयान मिल्दोजुल्दो छ ।

उर्मिला र भुवनकुमारीले केही जग्गा संयुक्त रूपमा बकस पाए । गेहनाथले सासू सोदाकुमारीलाई पनि प्रयोग गरे । सोदाकुमारीले बयानमा भनेकी छन्, ‘छोरीले जग्गा किन्नुपर्ने भयो भनी लगेर सही गर्न लगाइन् । छोरीले जे भनिन् त्यही गरें । केही समयपछि छोरीले नै आमा त्यो जग्गा बेच्नुपर्ने भयो भनिन् । मैले मञ्जुरीनामा दिएँ ।’ आफ्नै बदमासीमा उम्किएका गेहनाथले वृद्धा सासूलाई भने अनाहकमा भ्रष्टाचार मुद्दाको प्रतिवादी बनाइदिए । गेहनाथकी श्रीमती भुवनकुमारीले भने विषयवस्तु ढाकछोप गरेको बयानबाट खुल्छ । उनले भनेकी छन्, ‘मेरो नाम फोटोसहित कान्तिपुरमा आएको समाचारबाट मलाई जग्गा किनाइदिने व्यक्ति रामनाथ घिमिरे भएको थाहा पाएको हुँ ।’

गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका गेहनाथले सबैको लालपुर्जा एकमुष्ट संकलन गरेर केही समय राखेको खुलेको छ । यो अनियमितताका योजनाकारमध्येका उनी मुद्दामा प्रतिवादी बनेनन् । गृहको सहसचिवबाट अवकाश पाई निर्वाचन आयुक्तको अवधि टुंग्याएका सुधीरले पनि मुद्दाबाट उन्मुक्ति पाए ।

चर्चित आरोपित कलाधर देउजाले अख्तियार पुगेर ‘नाटक’ गरे । उनले तत्कालीन शाखा अधिकृतको टिप्पणी ठिकै मानेर जग्गा व्यक्तिका नाममा गरिदिएको बताए । उनले बयानमा भनेका छन्, ‘त्यसबेला ठिकै हो भनी सोचेर निर्णय गरें । हाल आएर तत्कालीन श्री ५ को सरकारको नामको जग्गा रहेछ भन्ने थाहा पाएँ ।’ साढुभाइ इन्द्रबहादुर थापाको नाममा जग्गा लुकाएका उनले ‘साढुभाइका नाममा कसरी गयो, थाहा भएन’ भनेर उत्तर दिए । अर्का अधिकृत सुरेन्द्र कपालीले ‘ठिकै देखेर आफूले निर्णय गरेको’ बताए । ललिता निवास अनियमितता प्रकरणमा मुछिएका अर्का खरिदार युक्तप्रसाद श्रेष्ठ हुन् । उजुरी अनुसन्धानकै क्रममा रहेका बेला गोंगबुस्थित एक भवनबाट खसेर उनको निधन भएको थियो । पतिवियोगको आलो चोटकै दौरान सरस्वतीकुमारी श्रेष्ठले अख्तियारमा बयान दिएकी थिइन् । उनले भनेकी छन्, ‘जग्गा कारोबार गर्ने व्यक्तिबाट खरिद गरेको हुँ ।’ युक्तकी बहिनी निर्मलाले दाइले नै जग्गा लिएको, आफूले सही मात्रै गरेको बताइन् । पछि ऋण लाग्यो भनी युक्तले बहिनीको नामको जग्गा बेचेका रहेछन् । डिल्लीबजार मालपोत कार्यालयका एक कर्मचारीको भनाइमा दुई सुको नपाएकी निर्मलाले दाइको भनाइअनुसार गर्दा भ्रष्टाचार मुद्दा खेप्नुपरेको छ ।

छानबिनका क्रममा राणा परिवारका तर्फबाट काका–भतिज रुक्मशमशेर र हाटकशमशेरले अख्तियारमा बयान दिएका थिए । ‘तपाईंको जग्गा फिर्ता आउँछ भनी विभिन्न व्यक्ति आएर प्रक्रियामा सघाएको’ रुक्मको बयान छ । गेहनाथ, सुधीर र राणा परिवारको बयानमा एकरूपता देखिन्छ । स्रोतका अनुसार अख्तियारले छानबिन अघि बढाएपछि उनीहरूले सबै प्रपञ्च मिलाएका थिए । हाटकशमशेरले आफ्नी आमा शैलजा राणाले केही व्यक्तिलाई जग्गा बकस दिएको र त्यसको सिफारिस रामनाथ नामका व्यक्तिले गरेको बताएका छन् तर उनले बकस दिँदा पनि ‘मुवा (आमा) ले बिक्री गर्नुभएको हो’ भन्न छाडेका छैनन् । राणा परिवारका नाममा फिर्ता आएको आधाजसो जग्गा ५० भन्दा बढी मोहीले आफ्नो नाममा बनाएका थिए । रुक्मशमशेरहरूले जग्गा फिर्ता पाउँदा मोहीका किसानहरूको लगत मालपोतमा थियो । सुवर्णशमशेरका सन्तानहरूले नै जग्गा फिर्ता पाएपछि त्यसमा जोडिएका मोहीहरूलाई वञ्चित गर्नुहुँदैन भनेर तत्कालीन एमालेका केही नेताहरू दौडधुपमा थिए । मोही दाबी गर्नेहरूले ‘राणाहरूको भाग हामीलाई पनि चाहिन्छ’ भन्दै विभिन्न ठाउँमा दौडधुप गरेका थिए । जिल्ला अदालत काठमाडौंबाट ३३० नम्बरको लेखनदासको प्रमाणपत्रवाहक रामकुमार सुवेदी डिल्लीबजार मालपोतको पीपलको चौतारामा बसेर घुँडामा नेपाली कागज राखी लेखापढी गर्थे ।

मोहीहरूलाई त्यतिबेला शोभाकान्त ढकालले बोकेका थिए । जग्गाको अनेक खेलमा लागेका ढकाल कामविशेषले मालपोत कार्यालय पुगेका रहेछन् । त्यहाँ ढकाल र सुवेदीको भेट भयो । ढकालले केहीबेरको कुराकानीमै कहाँनेर कसरी खेल्नुपर्छ भनेर चाल पाइहाले अनि सुवेदीलाई साथ लिएर अघि बढे ।

ढकाल र सुवेदीले जग्गामा मोहीको विवाद टुंगो लाग्नुअघि नै राणा परिवारसँग रोपनीको १६ लाख रुपैयाँका दरले रकम दिएर ‘बुकिङ’ गरेका थिए । मोहीहरूसँग रोपनीको १६ लाख रुपैयाँका दरले कागज गरेका थिए, मोहीले जितेको अवस्थामा त्यसको आधा मात्रै तिरे पुग्ने सर्त थियो । अख्तियार स्रोतको भनाइमा जसले जिते पनि आफ्नै भागमा पर्नेमा उनीहरू थिए । पछि मोहीहरूले मुद्दा जितेपछि सबै जग्गा ढकाल र सुवेदीले आफू र परिवारका नाममा किने ।

मोहीमध्येका एक बिलबहादुर महर्जनले आफूले लालपुर्जासमेत नदेखेको बताएका छन् । ‘सबै लेखापढी रामकुमार सुवेदीले गरेका हुन् । मोहीको नामको लालपुर्जा आयो भनेपछि कागजपत्रमा सही गर्न लगाए,’ उनले भनेका छन्, ‘हामीलाई लालपुर्जा पनि देखाइएको छैन । रामकुमारले मोहीको भागको भनेर मलाई नौ लाख अठासी हजार दिएका हुन् ।’ समरजंग कम्पनीको जग्गामा कुत बुझाएर खेती गर्ने उनीहरूलाई भूमाफियाले नै मोही खडा गरेका थिए ।

अख्तियारले मालपोत विभागका तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम र महानिर्देशक मुकुन्दप्रसाद आचार्यको हकमा गलत ढंगले तयार भएको फाइल सदर गरेको आरोप लगाएको छ भने बाँकी कर्मचारीहरूमाथि सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिलाई दिएको आरोप छ ।

कलाधर देउजा, सुरेन्द्र कपाली, जगल पुडासैनी, युक्तप्रसाद श्रेष्ठमाथि डिल्लीबजार मालपोत कार्यालयमा बसेर सरकारी जग्गा गलत रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोप छ । यी सबै कर्मचारीले आफन्तका नाममा जग्गा नै घूस लिएका थिए । राणा परिवारका सदस्यहरू शैलजा, सुनिती र रुक्मशमशेरलाई गैरकानुनी रूपमा सरकारी जग्गा लिएर भ्रष्टाचार गरेको आरोप छ । उनीहरूमाथि अख्तियारले ७५ लाखदेखि १३ करोड रुपैयाँसम्म बिगो मागदाबी गरेको छ ।
ईकान्तिपुर बाट

सम्बन्धित समाचार